Saturday, October 21, 2017

भाइटीका संग जोडिएको कथा

अाज वि.सं. २०७४ साल कार्तिक ४ गते शनिबार, चान्द्रमान
अनुसार कार्तिक शुक्ल पक्षको द्वितीया तिथि, स्वाती
नक्षत्र, प्रीति योग बालव करण, आनन्दादीमा सिद्धि योग,
चन्द्रमा तुला राशिमा, सूर्योदय विहान ६ः०८ मा, सूर्यास्त
बेलुका ५ः२७ बजे
आज यमपञ्चकको पाचौँ दिन अर्थात अन्तिम दिन । आजको
दिनलाई यमद्वितीया भनिन्छ । आज दिदी बहिनीहरुले आफ्ना
दाजुभाइ लाई भाइटिका लगाउने गर्दछन् । दाजुभाइले पनि दिदी
बहिनीलाई आफूले सकेको दान दक्षिणा दिने गर्दछन् ।
भाइटीका
आज दिदी बहिनीले आफ्ना दाजुभाइलाई शास्त्रिय विधि
विधान अनुसार टीका र तेल लगाइदिने गरिन्छ । सप्त रंगी टीका र
टाउको मा तेल हाल्नु यस पर्वको महत्वपूर्ण पक्ष मानिन्छ । यस
पर्वसँग यमराज र उनकी बहिनी यमुनाको प्रसंग जोडिएको
पाइन्छ ।
हिन्दु धर्म ग्रन्थहरुका अनुसार एक पटक यमराजकी बहिनी यमुना
आफ्नो दाजु यमराजको नजिक गइन् । सँधै संसारभरिका
पापीहरुलाई सजाय दिने र पाप पुण्यको लेखाजोखा गर्दा गर्दै
कहिले पनि फुर्सद नपाएका यमराजलाई भनिन् ‘आज म तपाईंलाई
आफ्नो घरमा लैजान चाहन्छु ।’ तर यमराजले आफूलाई फुर्सद
नभएको र पछि बहिनीको घरमा जाने कुरा गरे । यमुना पनि हस्
भनेर गइन् तर यमराजलाई कहिले पनि फुर्सद भएन । यमुनाको घर
जान पाएनन् । एकदिन यमुनाले आएर निकै हठ गरेपछि यमराज
यमुनाको घरमा गएर बस्न राजी भए ।
त्यसपछि कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखि शुक्लपक्षको
द्वितीया तिथि सम्म ५ दिन यमुनाको घरमा गएर बहिनीको
खुशीका लागि बसे । ५ दिनको अवधीमा आफ्ना बाहन कुकुर,
कौवासहित सबैको साथ यमुनाको सत्कार पाएर बसे । बहिनीको
सत्कारदेखि प्रशन्न भएका यमराजले बहिनीलाई वर माग भने ।
दाजुको यस वचनलाई सुनेर यमुनाले भनिन् ‘हे दाजु हरेक दिन तपाईं
मृत्यु भएका प्राणीहरुलाई सजाय दिनुहुन्छ । यदी मदेखि खुशी
हुनुहुन्छ भने सबै प्राणीलाई नारकीय यातना दिन छोड्नुहोस् ।’
बहिनीको कुरा सुनेर यमराजले भने ‘हे बहिनी तिम्रो सत्कार देखि
म अति प्रशन्न भएँ । त्यसकारण सँधै त होइन, कार्तिक कृष्ण
त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म जो जति प्राणीहरुको मृत्यु
हुन्छ तिनीहरुलाई म नरक को यातना दिन्न र हरेक वर्ष यो ५ दिन
म तिम्रो घरमा आएर तिमी सँग नै बस्नेछु । यस दिन जजसले आफ्ना
दाजुभाइलाई पूजा र्गदछन् र दाजुभाइ पनि दिदीबहिनीको घरमा
गएर भोजन गर्दछन् भने तिनीहरुले कहिले पनि यमलोकको ढोका
समेत देख्नुपर्दैन ।’ यमराजले आफ्नी बहिनीलाई यस्तो प्रकारको
आशिर्वाद दिएको हुनाले यस ५ दिन मृत्यु भएकाहरु यमलोक जानु
नपर्ने मान्यता रहेको छ ।
आजको दिन दिदी बहिनीको घरमा नै गएर भोजन गर्नुपर्दछ ।
आफ्ना दिदी बहिनी छैनन् भने मीत दिदी बहिनीहरुको घरमा
जानुपर्छ । यदी तिनीहरु पनि छैनन् भने कसैलाई दिदी बहिनी
बनाएर भए पनि आजको दिन दिदीबहिनीको हातबाट सप्तरंगी
टीका लगाउनुपर्छ भन्ने कार्तिक माहात्म्यमा बताइएको छ ।
यस पर्वमा दिदी बहिनीले आफ्ना दाजुभाइलाई एकै ठाउँमा
राखी दीयो, कलश, गणेश र यमराज र यमुनाको पुजा गरि आफ्ना
दाजुभाइलाई पूजा गर्नुपर्दछ । तेल र पानीको धाराले घेरा बनाई
कहिले नओइलाउने बिमिरोको पुजा गरि त्यसमा समेत तेल हाली
आफ्ना दाजुभाइको टाउकोमा तेल हाल्नु पर्दछ ।
त्यसपछि सप्तरंगी टीका लगाई ढोकामा ओखर फुटाएर
फाल्नुपर्छ । दाजुभाइलाई कहिले नसुक्ने मखमलीको माला लगाई
आफूले सकेको मेवा मिष्ठान्नहरु दिने प्रचलन छ । दाजुभाइले पनि
आफ्ना दिदीबहिनीलाई आफूले सकेको दान दक्षिणाहरु दिने
गर्दछन् । यसो गर्नाले दाजुभाइ तथा दिदीबहिनी सबैको आयु
लामो हुने र दीर्घायु हुने कुरा पनि शास्त्रहरुमा वर्णन गरिएको छ

फेसबुक, ट्विटरइन्स्टाग्राममा फलो गर्नुहोस्।


Wednesday, October 18, 2017

शुभ दीपावली २०७४: कुकुरसंग सम्बन्धित केही प्रचलित नेपाली उखानहरु

कुकुरको गुन र बैगुनलाई जोडेर धेरै उखान पनि बनेका छन् । कुकुर
तिहारको बेला त झन् यस्ता उखान धेरै स्मरण गरिन्छ । नेपाली
समाजमा प्रचलित कुकुरसँग जोडिएका केही उखान यस्ता छन्:

🐕👉कुकुरको पनि दिन आउँछ
🐕👉कुकुर अज्ञानी हुन्छ र बोलाउनुपर्छ, मानिस त ज्ञानी हुँदा
          त्यसै पनि जानुपर्छ
🐕👉कुकुर एक गाँस खान पायो भने त्यसैमा रमाएर बस्छ,
         ढुकुर चौरासी व्यन्जन खान पाएपनि एकै ठाउँमा
          बसिरहन सक्दैन
🐕👉कुकुरका छाउरा गन्न पठाएजस्तो
🐕👉कुकुर काटी बिरालो पोस्ने
🐕👉कुकुर कि टाँडमा बस्छ, कि डाँडमा बस्छ
🐕👉कुकुर कुटी पाहुना, तर्साउनु
🐕👉कुकुर कुटी वर, ज्वाईं कुटी पर
🐕👉कुकुरको काम छैन, बस्न मान्दैन
🐕👉कुकुरको काम छैन, सुस्त हिँड्न जान्दैन
🐕👉कुकुरको काम न खाजा
🐕👉कुकुरको काम पनि छैन, खाने बेलामा माम पनि छैन
🐕👉कुकुरको काम पनि छैन, फुर्सद पनि छैन
🐕👉कुकुरको घरमा मासुको जिलो खोजेर कहाँ पाइएला
🐕👉कुकुर खुशी भए पुच्छर हल्लाउँछ
🐕👉कुकुर जतिसुकै टोकाटोक गरेपनि भुक्ने बेलामा सब
          एक मुख लाग्छन्
🐕👉कुकुरको जिब्रो जति राल चुहाए पनि मुखै भित्र
🐕👉कुकुरको जुठो खानु, छोराको नखानु
🐕👉कुकुरको निउँ पारी चम्चेको दाउ
🐕👉कुकुरको पनि आफ्नो घरमा ठूलो स्वर
🐕👉कुकुरको पुच्छर बाँगो देख्दा पनि हाँस्ने
🐕👉कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रामा हालेपनि बाँगाको बाँगै
🐕👉कुकुरको भाउ छ, मानिसको भाउ छैन
🐕👉कुकुर खाने बाघले मान्छे पनि खान्छ
🐕👉कुकुर जस्तो गुनी र ज्वाईं जस्तो वैगुनी कोही हुँदैन
🐕👉कुकुर जहाँ खान पाउँछ, त्यहीँ भतुवा लाग्छ
🐕👉कुकुर तर्संदा नडराउनु, भैंसी तर्संदा डराउनु
🐕👉कुकुर बिरालोले जोगाएको सम्पत्ति, इष्टले जोगाएको धन
🐕👉कुकुर विरालाले जोगाएको सम्पत्ति, इष्टले जोगाएको धन
🐕👉कुकुर बिरालोजस्तै लगारालगार
🐕👉कुकुर भन्छ जहान बढुन्, विरालो भन्छ सबै मरुन्
🐕👉कुकुर पनि हरायो, घाँडो पनि हरायो
🐕👉कुकुर पाली, आफैं भुक्ने
🐕👉कुकुर बढी खुसी भए पुच्छर हल्लाउँछ
🐕👉कुकुर बिरालाको जात हतपत मर्दैन
🐕👉कुकुर भुके हजार हात्ती चले बजार
🐕👉कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ
🐕👉कुकुर भुक्दैछ, हात्ती जाँदैछ
🐕👉कुकुर भुक्यो राती, जंगल भाग्यो हात्ती
🐕👉कुकुर मरे झैं मरेको
🐕👉कुकुर र विरालो जस्तै
🐕👉कुकुरलाई एकै गाँस जूठोपुरो खान दिएपनि त्यो सधैं  
          आफ्नो हुन्छ, ढुकुरलाई बाह्र वर्षसम्म चौरासी व्यन्जनले     
           सत्कार गरेपनि कहिल्यै आफ्नो हुँदैन
🐕👉कुकुरलाई काम्लो र कुखुरालाई दाम्लो कहिले होस्
🐕👉कुकुरलाई घीउ नपचेको
🐕👉कुकुरलाई घीउ र भुटेको वीउ
🐕👉कुकुरलाई जिस्क्याए टोक्छ, मूर्खलाई जिस्क्याए ठोक्छ
🐕👉कुकुरलाई जूठो भातले र बुढाबुढीलाई रोगव्याधाले   
          कहिल्यै छोड्दैन
🐕👉कुकुरलाई पनि च्यै नभनी आउँदैन
🐕👉कुकुरलाई पराल, गाईलाई मासु
🐕👉कुकुरलाई प्यारो गरे आफ्नै मुख चाट्छ
🐕👉कुकुरलाई प्यारो गरे गुहु ख्वाईदिन्छ
🐕👉कुकुरलाई बेथा लाग्दा बाख्रो नमन्छनु
🐕👉कुकुरलाई मासुभात खान दिए पनि गुहु खान छोड्दैन
🐕👉कुकुरलाई मासु पैंचो
🐕👉कुकुरलाई लागेको जाडो र पाहुनालाई लागेको भोकको
          कसले वास्ता गर्छ
🐕👉कुकुरलाई सुनकै थालमा भात खान दिए पनि त्यसलाई
          घोप्ट्याएर भुइँमै खान्छ
🐕👉कुकुरलाई हानेको तीर ढुकुरलाई गएर लाग्यो
🐕👉कुकुरले आगो ल्याओस् न फुकोस्
🐕👉कुकुरले आफ्नो खुट्टामा टोक्यो भन्दैमा उसको खुट्टामा
          टोक्न हुँदैन
🐕👉कुकुरले आफ्नो मालिकलाई जिन्दगीभर पर्खिरहन्छ
🐕👉कुकुरले कपास छरोस् न धोती लाओस्
🐕👉कुकुरले कहाँ भुक्छ, कहाँ भुक्दैन
🐕👉कुकुरले टोके पनि खराव, चाटे पनि खराव
🐕👉कुकुरले दाईं हुने भए गोरु केलाई चाहियो ?
🐕👉कुकुरले दौडने मान्छेलाई र पुलिसले डराउने मान्छेलाई
          लखेट्छन्
🐕👉कुकुरले पनि पेट पाल्छ
🐕👉कुकुरले पुच्छर हल्लाउनुपर्नेमा पुच्छरले कुकुर हल्लाएको
🐕👉कुकुर र ड्राइभरले एकपटक हिँडेको बाटो कहिल्यै        
         भुल्दैन
🐕👉कुकुरले सधैं घिउ खाँदैन
🐕👉कुकुरले हाड छोडेझैं छोड्ने
🐕👉कुकुर सानो भए पनि ठूलो भए पनि बेहोरा उस्तै
🐕👉कुकुर हरायो, घाँडै हरायो

हामी अन्य सामाजिक सञ्जालमा पनि छौ
facebook
twitter
instagram
google plus
linkedin