१. किताब बोकेर हिँड्नुहोस् : जता गए पनि साथमा किताब बोकेर हिँड्नुहोस् । फुर्सदको समयमा किताबका पान्ना पल्टाउन सजिलो हुन्छ । बस, ट्रेन वा दाँतको उपचार गर्न डाक्टरको पर्खाइमा रहेको बेला पनि किताबका पानामा रमाउन सक्नुहुन्छ । तपाईं जतिसुकै व्यस्त हुनुहोस्, दैनिक केही समय पढाइका लागि छुट्याउनुहोस् । तपाईं जतासुकै पुग्नुस् मतलब भएन तर किताब बोक्नुस् । बोक्नुभएको छैन भने तपाईंसँग भएको ग्याजेटमा ‘सफ्टकपी’ किताब त खोज्न सक्नुहुन्छ नि ! सामाजिक सञ्जालमा रमाउनुभन्दा किताब पढ्नु निकै फाइदाजनक छ ।
२. किताबलाई ‘ह्याबिट’ बनाउनुहोस् : किताब पढ्नुलाई आफ्नो नियमित कामजस्तै ठान्नुस् । पढाइबाट भाग्ने होइन बरु दिउँसो, बेलुका अथवा जति बेला समय मिल्छ त्यति बेला किताब पल्टाइहाल्नुस् । हरेक दिन ‘रुटिन’ बनाएर पढ्न
थाल्नुभयो भने केही समयपछि बानी लागिहाल्छ ।
३. पढ्ने पुस्तकको ‘लिस्ट’ बनाउनुहोस् : आफूले पढ्न चाहेका किताबको सूची बनाउनुहोस् । तपाईंले रोजेका किताब ‘क्लासिक’ पनि होलान् अथवा भर्खरै प्रकाशित भएका पनि हुन सक्छन् । एउटा किताब पढेर सकिनै लाग्दा यसपछि के पढ्ने भनेर तपाईंले सोचिसक्नुपर्छ । नत्र, किताब पढ्ने बानी हट्न सक्छ । कस्ता किताब पढ्ने भन्नका लागि केही स्रोत लिनुस् र नियमित पढ्नुस् । यसले गर्दा एकपछि अर्को किताब पढ्न झनै जागरुक भइन्छ ।
४. अडियो किताब सुन्नुस् : अन्य काम गरिहँदा पनि तपाईंले किताबको विषय जान्न पाउनुहुन्छ । किताबको बारेमा पनि जानिने र अरू काम पनि हुने, एकै समयमा । अडियो बुक जहाँसुकै, जति बेला पनि सुन्न सक्नुहुन्छ । यस्ता अडियो किताब ‘बीबीसी रेडियो ४’को ‘बीबीसी एट बेडटाम’, ‘बुक्स अन द विक’मा पाउन सकिन्छ । ‘बीबीसी रेडियो प्लेयर’ साइट
(ऐप) वा ‘आर फोर वेबसाइट’मा पनि किताब पाउन सकिन्छ । अडियो बुक सुन्नु भनेको किताब पढ्नु अवश्य होइन तर पढाइबाट तपाईंलाई टाढा नराख्न यसले सहयोग गर्छ ।
५. ‘बुक क्लब’मा जोडिनुहोस् : समूहमा पढ्दा नयाँनयाँ मान्छेसँग सम्पर्क हुन्छ । किताबका सम्बन्धमा धेरै कुरा सुन्न पाउनुहुन्छ । त्यस्तै नयाँ किताबबारे जानकारी हुन्छ । आफ्नो मन पर्ने ‘टीभी सो’बारे गफ गर्न कसलाई मन नलाग्ला ! बुक
क्लब पनि त्यस्तै त हो नि ! किताबको के कुरा मन पर्यो, ‘सेस्पेन्स’ के थिए भन्नेजस्ता विषयमा छलफल गर्नुस् । यसले तपाईंलाई अझै धेरै पढ्ने बनाउँछ । यस्ता क्लबबाट तपाईंले किताबमाथि अरूको धारणा बुझ्न पनि सक्नुहुन्छ जसले फाइदै गर्छ ।
६. मन नपरेको किताब नपढ्नुस् : किताब सुरु गरेपछि पूरै पढ्नुपर्छ भन्ने छैन। किताबको बीचतिर हुनुहुन्छ र खासै मन परिरहेको छैन भने त्यहीँ छाडिदिनुस् । मन नपरेपछि किन पढ्ने ? तपाईंको लिस्टमा भएको अर्काे किताब पढ्नुस् । मन परेको किताब पढ्दा मात्रै पढ्ने बानी लाग्छ ।
७. वातावरण अध्ययनमैत्री बनाउनुहोस् : छेउमा
टीभी बजिरहेको छ भने पढ्न गाह्रो हुन्छ ।
टीभी हेर्ने कि पढ्ने ! पढिरहेको समयमा तपाईंलाई
अल्मल्याउने कुनै पनि चिज छेउमा हुनु हुँदैन । बरु, गर्मी समयमा कहिलेकाहीँ किताब बोकेर बाहिर निस्कनुहोस् र हावा खाँदै पढ्नुस् । कहिलेकाहीँ पारिवारिक समस्या अथवा तनाव भएर ध्यान एकत्रित गर्न सकिँदैन । यस्तो बेलामा पढ्न सकिँदैन । मन नपरेको म्युजिक सुनेर समय बर्बाद नगर्नुस् । बरु खुरुखुरु पढ्नुस् ।
८. आफैंलाई चुनौती दिनुहोस् : सधैंभरि चुनौतीले राम्रो गर्छ
भन्ने होइन । तर, जब तपाईं आफैंले आफैंलाई दिएको चुनौती पूरा गर्नुहुन्छ भने त्यसले सन्तुष्टि दिन्छ । तपाईं व्यस्त हुनुहुन्छ भने किताब सक्नुपर्ने ‘डेडलाइन’ तोकेर पढ्नुहोस् । दिनमा कति पढ्ने वा कति पेज पढ्ने भनेर सीमा तोक्नुहोस् । चुनौतीले तपाईंलाई उचितसँग र सहीसँग काम गर्ने वातावरण मिलाइदिन्छ
९. मन परेको विषयमा सोच्नुस् : तपार्इंलाई ‘क्लिफ ह्यांगर’ (कार्यक्रमहरूमा राखिने सस्पेन्स) मन पर्दैन ? यसको वास्तविकता अर्काे कार्यक्रममा थाहा भई नै हाल्छ । किताबमा पनि कुनै मन परेको लाइन आयो भने अर्काे दिन पढौंला भनेर
थन्क्याइदिनुस् । यसले गर्दा तपाईंलाई अर्काे दिन फेरि पढ्न मन लाग्नेछ । कथा कसरी अघि बढ्ला भन्ने खुल्दुलीले किताबप्रति
आकर्षित बन्नुहुनेछ।
१०. मन परेको विषय छान्नुहोस् : तपाईं नियमित पाठक होइन भने सुरुमै लियो टोल्सटोयको ‘वार एन्ड पिस’ मन नपर्न सक्छ । पहिल्यैदेखि मन परेको कुनै विषय छान्नुहोस् । तपाईं जासुसी थ्रिलर सिनेमा मन पराउनुहुन्छ भने जेम्स प्याटरर्सन रोज्नुस् । इतिहास तपाईंको रुचिको विषय हो भने हिलारी मेन्टल पढ्नुस् । तपाईंलाई जुन लेखकको किताब मन पर्छ
ती लेखकका सबै किताब पढ्ने प्रयास गर्नुहोस् । चाल्र्स डिकेन्स
हुन् या डेभिड विलियम, उनीहरूका सबै सिरिज पढ्नुहोस्।